एकाबिहानै घरबेटीले म बाहुन भएकै निहुँमा कोठा छोडेर जान हप्कीपूर्ण आग्रह गरे । अनि आफ्नै भाषामा मैले नबुझ्ने गरी गाली गरे । घरबेटीको गाली सुन्न नपाउँदै पत्रिका बेच्ने दाजु आज फरक-फरक प्रदेशको पत्रिका ल्याउँदै मलाइ मेरो प्रदेशको नाम सोधेर कतै बीचबाट पत्रिका झिकेर दिए, सायद म उनको प्रदेशमा परिनँ क्यारे । हिजो अस्ती पत्रिका दिने स्टाइल र आज दिने स्टाइल बिच निकै फरक पाएँ अनि पत्रिका कोठामा मिल्काएर लागें चिया खान । चिया खाने पसल साविकको भन्दा सुनसान थियो । टेबल र कुर्चीहरू कुना-कुनामा मिलाएर राखिएका र भित्तामा लेखिएको थियो 'प्रदेश नं ३' अनि अरू थप टेबल र टेबलको सङ्केत । पसले साहुजी संग चिया मागे र आफूलाई छुट्याइएको टेबलमा गएर बसे र सोचमग्न भए एकछिन । चियापसलमा गुलियो चिया खादैं तिता कुरा गर्दै थिए मान्छेहरू--जातियताको, संघियता र राजनितिको ।
आज शनिबार । छुट्टिको दिन । यसो नहुँदो हो त मैले अझै कति देख्ने थिएँ देख्न नसक्ने कुराहरू । आज मलाई मेरो काकाकोमा पुग्नु थियो । खाना खाने प्लान सहित लागे म माइक्रो स्टेशन माइक्रो चढ्न । माइक्रो भित्र पसें। माइक्रोको वातावरण निकै ग्लुमि थियो । सिटहरू चियापलका टेबल छुट्याए जसरी छुट्याएका । चुपचाप आफूलाई छुट्याएको सिटमा विराजमान भएँ अनि चल्यो गाडी । गाडी भित्र रेडियो बज्यो । रेडियोमा पनि तिनै डिस्गस्टिङ कुरा-- राजनिति, जातिवाद, कर्फूयू, हत्या र मृत्यु ।
गाडीको भाडा बुझाउन कलेजको आइडी कार्ड देखाएर पैसा बुझाएँ सायद मेरो नाम पछिको थर देखेर खलासीलाई रिस उठेछ क्यारे । 'बाहुन' भन्दै पैसा समायो । म चुप बसेको छु । एकदम चुपचाप । गाडी कालीमाटी रोकियो म झरें म झर्ने बेलामा कसैले मलाई पछाडीबाट धक्का दियो । सोचें यो धक्का पनि त्यही जातिवादको नमूना हो ।
त्यसपछि लागे गल्ली गल्ली काकाको वासस्थान । गल्लीको प्रत्येक भित्तामा जातियता र संघियताको नारा लेखिएको थियो जुन नाराको अक्षरहरू भित्ताबाट सलबलाएर मेरा घाँटी थिच्न आएँ, म अत्तालिएँ, दौडिए र ठोकिएँ कुनै अन्जान मान्छे तर परिचित अनुहार जुन अनुहार मैले कतै देखेको थिएँ । मैले सरि भनें । उ मौन थियो । मैले सोधें-- 'के तपाइलाइ मैले कतै भेटेको छु ?' । 'सायद' उसको जवाफ यत्ति थियो । थप केही नबोली उ लाग्यो आफ्नो गन्तवय तिर । उसलाइ निकै बेर हेरें। पछि सडकमा केही चिज रहेको पाएँ । परिचय पत्र । नाम: दशरथ चन्द । म दङ्ग परे । कतै म संग ठोक्किएको शहीद त थिएन जो देश छोडेर जान खोजेको होस् ।
यस्तै कुरा मनमा खेल्न नपाउँदै काकाको घरको आँगनमा पुगें ।आँगनमा थरि-थरिका फूल फूल्दै थिए, यसै बेला बाजे पृथ्वीलाई सम्झे र मनमनै भने 'नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो' तर अहिले रहेन ।
माथिबाट काकाले बोलाउनु भो र लागें काकाको बैठक कोठा तिर । बैठक कोठाको टिभि नेताहरूको बैठक र वार्ताकै कुरा गरिरहेथ्यो तर निष्कर्ष बिहीन वार्ता । र सोच्न लागे जातिवादले निम्त्याउने कुराहरू!
नागरिकता र पासपोर्ट लिन जाँदा प्रदेश-प्रदेश को लाइनमा बस्न नपरोस् । नागरिकता र पासपोर्टमा प्रदेशको नयाँ कोलम नथपियोस् । अस्पताल पुग्दा प्रदेश नं १ को डाक्टरले अन्य प्रदेशको बिरामीलाई घाँटी अप्रेशन गर्दा पाठेघरको अप्रेशन नहोस् । खानेपानी लिन लाइनमा बस्दा प्रदेश नं अनुसार पानी नभरियोस् । फोनको आगमन र निगमन कलमा प्रदेश अनुसार थप ट्याक्स नलागोस् ।
बिहे, ब्रतबन्ध, छेवर, धान नाच, असारे मेला, सोराठी सबैले संगै मनाउन पाइयोस् । दशैं, तिहार, तिज, इद, जितिया संगै मनाउन पाइयोस् ।
सवारी-साधन, होटल, अस्पतालमा जातियताको असर नपरोस् । बाहुन, क्षेत्रि, मगर, थारू इत्यादि एउटै कक्षाकोठामा पढ्न र पढाउन पाइयोस् ।
यस्तै-यस्तै शुभ होस् तर यस्तो नहोस् जुन हामी कल्पनामा कल्पना पनि गर्न नसकौं ।