Wednesday, April 10, 2013

पीनासको गद्य कथा


 श्रीगणेशायनम: ॥ कैलासमा महादेव पार्वती बसेका रहेछन् । महादेवजीले भन्नुभो--हे पार्वती ! मृर्त्यलोक जन्माएथे, त्यो कस्तो भो ? नागलोकमा पनि खूब अश्मेघ यज्ञ र नाच कीर्तन हुन लागेका छ भन्ने सुन्दछु । मर्त्यलोकमा पनि जानुपर्यो, नाच हेर्नलाई मलाई बहुत इच्छा लाग्यो, जाउँ भनी महादेवजीले भने । 'हे ईश्वर ! म किन जाउँ हजुर मात्र पाल्नुहोस्' भनी पार्वतीबाट विन्ति गर्दा श्रीमहादेवजी एक्लै नागलोक जाँदा भए । त्यहाँबाट मर्त्यलोकमा आएर मर्त्यलोक जमाएको हेरी विचार गरे । नाच-कीर्तन हेर्नको साह्रै इच्छा हुँदा नाच-कीर्तन हेर्न लागे । हेर्दा हेर्दै नरकलोकमा धेरै दिनसम्म भुली कैलासमा नपुग्दा महादेवजी किन आउनुभएन, कसो भो के कामले भुल्नुभो ? महादेवलाई चाँडै डाकि ल्याऊ भनी गौरीगाई नरक लोक पुगी महादेवसित भेट गरी-- 'हे प्रभु ! कैलासबाट पार्वतीले चाँडै हजुरलाई डाकी ल्याऊ भनी आज्ञा हुँदा म आएकी हुँ भनी बिन्ति गरिन् । महादेवजीले बढिया भयो सँगै जाउँला भनी गौरीगाईलाई बाँधिदिनुभयो, आफू कैलाशमा नजाँदा पार्वतीबाट रिसानी भएर बाछालाई लिन पठाउनु भयो । बाछो नरकलोकमा महादेवजीका समीप पुगी-- 'हे प्रभु ! गौरीगाई ल्याउन सकिनन् तिमी हजुरलाइ कैलाशमा डाकी ल्याऊ भनी पार्वतीबाट हुकुमहुँदा म आएको हुँ भनी बिन्ति गरे ।' गौरीगाई आईन् तिमी पनि आयौ, बढिया भो सँगै जाउला भनी बाछालाई पनि बाँधिदिए । आफू मर्त्यलोककोभ भरीमा भुले । फेरी पार्वती रिसाएर हे सिँह ! अब तिमी जाऊँ भनी कुरा सिकाई पठाइन् । सिँह नरकलोकमा महादेवका आगाडी पुगी हे प्रभु ! कैलाशबाट पार्वतीले गौरीगाई, बाछालाई लिन पठाएको उनीहरु समेत अझ आएनन् अब तिमी गएर हजुरलाई चाँडै ल्याऊ भनी अह्राउँदा आएको हुँ भन्दा बेस भो, गौरीगाई बछाहा पनि आएकै छन् तँ पनि आईस् अब सँगै जाउँला भनी सिँहलाई पनि बाँधिदिनुभयो । सिँह नफर्केकाले पार्वतीले अब महादेवजी हत्तपत्त आउनुहुन्न केही पीडा दिएर जरुर आउनुहोला भन्ने गौर गरी काँखीको रौँ उखेली पीनास बनाईन् । पीनास खडा भो--हे पीनास ! तिमी नरकलोकमा जाऊ र महादेवजीको नाकभित्र पसी पिडा देऊ तब महादेवजीले आउनुहोला ।' भन्दा हवस् भनी पिनास नरकलोकमा पुगेर महादेवजीका नाकभित्र पसी पीडा दिन लाग्दा महादेव आत्तिएर वैद्य खोजी ओखती गर्दा पनि निको भएन । वैद्यले यो कठिन रोग हो नाक झर्रा भने जस्तो देखिन्छ हामीबाट यो निको हुदैँन यसको औषधि चाँडै गरिहाल्नुहोस् भने । महादेवजी गौरी, बछाहा सिँहलाई लिएर कैलास जानुभयो । पार्वतीसित भेट हुनेबित्तिकै हे पार्वती ! यो नाकको व्यथाले साह्रै पीडा दियो मेरो जिऊ झिर्न पार्यो अब चाँडो उपाय गरिदेऊ भनी महादेवजीको आज्ञा हुदाँ पार्वतीले बिन्ति गरिन्--हे ईश्वर ! नरकलोकमा धेरै दिन सम्म भुली यहाँ नआउँदा मैले गौरीगाई बछाहा सिँहलाई पठाउँदा पनि प्रभु पाल्नुभएन । केही पीडा दिए मात्र आउनुहोला भनी काखीको रौँ उखेली पीनास बनाई पठाएथेँ उही पीनासले चरणलाई दु:ख दिएको हो । अब कत्ति चिन्ता गर्नुपर्दैन म निको गरिदिन्छु भनी श्री महादेवजीका नाकमनी दुई हात थापी पार्वतीले-- "हे पिनास ! बाहिर निक्लीआ भन्दा पीनास बाहिर निस्क्यो । महादेव जी आन्नद र अच्चम मानी मलाई यस पीनासले यस्तो पीडा दियो भने नरलोकमा कस्तो गर्ला ! यसलाई छाड्न हुँदैन भनी बाचा बाँधी बाचाको बन्धन गरिराख्नु पर्दछ लो बोलाउ भन्दा पार्वतीले पीनासलाई बोलाई महादेवका अगाडिमा राखिदिँदा पीनासले अब म कहाँ बसुँ ? के खाऊँ ? भनी बिन्ति गर्दा--"हे पीनास ! मर्त्यलोकमा बस्ने ठाँउ खोजी बस् । मनुवाको खकार सिङानहरु खाई बस्नू । मनुवाले तँलाई केही पीडा दिए तैँले पनि पीडा दिनू । मनुवाले केही पीडा नदिई अघिबाटै तैलेँ पीडा दिइस् भने तँलाई ब्रह्महत्या गौहत्याको पापा लाग्ला ।" भनी बाचा बँधाई महादेवले मर्त्यलोकमा पीनासलाई पठाईदिनु भयो । पीनासले बस्ने ठाऊँ तलाशी गर्दा पाटनपुरमा अनिरुद्र पाँडेको रछानका किनारमा चारपाटे ठूलो ढुङ्गो रहेछ । त्यसैले ढुङ्गामा अनिरुद्र पाँडे स्नान गर्दा रहेछन् । पीनासले मेरो जीविका यहीँ होला भनी ढुङ्गाभित्र पसी ठाउँ बनाई पाँडेको मयल सिङान र खकार खाइरहे । रहँदा बस्दामा पीनासको बिसासय जहान भएछन् । एक दिन अनिरुद्र पाँडेले तातो पानीले स्नान गर्दामा तातो पानी ढुङ्गाभित्र पस्दा पीनासका जहान र पीनासको दुरिदुहाई भयो । तब पीनास कराउन लाग्यो-- हे पाँडे ! तिम्रो विराम मैले केही गरेको थिइँन बिहकमा मेरो लाला-बाला परिवार भस्म गरी मारिदियो । म पनि तिम्रा जहान भस्म गरि मारिदिन्छु भनी गाईका थुनभित्र पसी दूधमा विष छोडिदियो । यो दूध(गोरस) खाई पाँडेका जहान भस्मभूत भएछन् । सोही बिरहले अनिरुद्र पाँडे दहीको ठेकी र च्यूरासमेत हातमा लिई परदेश जाँदा भए । वाणगंगाका किनारमा पुगि नुहाउन दहीको ठेकी क्यामुनाका रुखमा झुण्डाई यताउति हेर्दा जसु चण्डाल बाख्रा चराउँदो रहेछन् ।अनिरुद्रले 'हे जसु ! दहीको ठेकी क्यामुनाका रुखमा झुण्डाएको छ सो हेरिदिए है भनी नुहाउन गए । त्यसै बीचमा पीनास पनि आई दहीका ठेकीभित्र पसी यो पाँडेका जहान भस्म पारिसकेँ अब यो दही खान्छ त यो पाँडे पनि मर्छ भनी पीनासले कुरा गर्दा जसु चण्डालले सुनेछ । अनिरुद्र पाँडे स्नान सन्ध्या गरी दही च्यूउरा खाउँ भनी दहीका ठेकीमा हात लाँदा जसु चण्डालले भने--हे पाँडेजी ! त्यो दहीको ठेकीभित्र विषालु कीरो बोल्दछ । त्यो दही नखाऊ यदि खायौ भने तिमी अवश्य मर्दछौ बरु त्यो ठेकी आगोमा हालिदेउ । तब अनिरुद्र पाँडेले आगोमा हालिदिए । त्यो ठेकी तात्नेबित्तिकै पीनास कराउन लाग्यो । तिम्रा जहान मार्ने शत्रु कीरो यही हो भनी जसु चण्डालले भन्यो । अनिरुद्र पाँडेले पनि मेरा जहान भस्म पारी मारिस् अझ मलाई पनि मार्न भनी मेरा पछि आएको शत्रु ! अब परिस् फेला तँलाई पनि मार्दछु भन्दा पीनास भन्छ--हे पाँडेजी ! तपाईँको स्नान गर्ने ठूलो चारपाटे ढुङ्गाभित्र पसी बस्ने ठाउँ बनाई तपाईकै मयल खाई मेरा जहान विसासय पाली बसेको थिएँ । एक दिन तपाईले तातो पानीले स्नान गरी बाँकी रहेको पानी ढुङ्गा भित्र फ्याँक्ता मेरा जहान सबै मरे । बिहकमा मेरा जहान पनि मार्दछु भनी मारेको साँच्चै हो । मैले बिराएँ । अब म तपाईँका शरणमा परेँ भनी पीनासले बिन्ति गर्दा अनिरुद्र पाँडेले उसो भए तँलाई बाँचा बाँधि छाड्छु । बाँधेको बाचा नाघिस् भनेस् तँलाई ब्रह्महत्या गोहत्याको पापा लाग्ला भनी बाचा बाचा बाचा तीन तेवाली बाचा बाँधिराखे । यो कथाको साक्षी जसु चण्डाल क्यामुनाको रुख बाणगंगा दहीको ठेकी अग्नि अनिरुद्र पाँडे अब अनिरुद्र पाँडेको दुहाई पीनासको दोहोली भयो दोहोली भयो ।

द्रष्ट्व्य: पिनास लागेका बिरामीले सध्याकालिन समयमा यो कथा तीन पटक पढेमा पिनासबाट मुक्ति पाईन्छ ।।