म एक साधारण परिवारमा जन्मिएको सामान्य हैसियत राख्ने केटो । मेरो परिवार र समाज म बाट केही चाहन्छ भन्ने आत्मबोध मलाई सधैँ भइरहन्थ्यो र रहन्छ पनि । म आफूलाई अरूको नजरमा मूल्याङ्कनको कसीमा सधैँ खडा गर्ने प्रयत्नमा हुन्छु; सायद यो मेरो परिवारको आदर्शताको फल हो । मेरो बुबा एक शिक्षक; सामान्य तलब तर सपना ठूलो । आमा मलाई सधैँ प्रिय हुनुहुन्छ; आमाको हरेक कुरा मलाई अमृत सरी छ । मेरो आमा भन्नुहुन्छ-" पढेर होइन छोरा परेर सिक्नुपर्छ" । म अहिले परेर सिक्दै छु जुन कुरा मैले पढेर कहिल्यै सिकिन ।
जीवन दु:खको सागरबाट आफूलाई उतार्ने एउटा सङ्घर्ष रहेछ । आरोह-अवरोह धेरै आउँछन् जीवनमा; कति आफ्ना लागि त कति अरूका लागि छानी-निफनी केलाउन पर्ने रहेछ । आमा सधैँ मेरो बारेमा चिन्ता लिनुहुन्छ; म सधैँ सानो लाग्थ्यो आमालाई । तर म कहिले ठूलो भएँ, कहिले बालापन त्यागे मलाई थाहा छैन; सायद जीवन रुपी चक्र छिटो चल्दो हो ।
म जन्मिएको लगभग १९ वर्ष पछि मेरो अचानक मृत्यु भयो; मेरो मृत्युको कारण मलाई मात्र थाहा छ । म मरिसकें, मेरो लास घाटमा जलिसक्यो, म हावामा कालो धुवाँ बनि उडिसके तर मेरो आत्मा अझै यतै कतै दोबाटोमा अल्झिरहेछ; नयाँ दोभान खोज्दै ।
म प्रिय थिएँ या सायद मेरो कल्पना मात्र हुनसक्छ । हरेक दिन मेरो दैनिकी उस्तै छ जस्तो मृत्यु पहिले । मृत्यु अघि म आत्मा संगै थिएँ तर अहिले आत्माले सायद म बाट बिना अनुमति डेरा सरिसक्यो । म एक्लो छु; यो जमातमा यो भिडमा तर मेरो आत्मा एक्लो छैन; यो बेग्लै संसारमा हराएको छ ।
म मरिसके तर म पिउँछु, सुत्छु, खान्छु, हिड्छु, छोइन्छु, लडाईन्छु, बोलाइन्छु तर केबल भौतिकतामा । मैले मेरो लास छोएको छु, म मेरो मृत्यु प्रति डाँको छोडेर रोएको छु, कराएको छु, बौलाएको छु । मैले आफैलाई पोलिएको, धुवाँ भइ आकाशमा उडेको देखेको छु । मलाई मेरै आत्माले एकएक निमेष गरी छोडी गएको आभास गरेको छु । धेरै नजिकबाट मैले मेरो मृत्युलाई वरण गरेको छु, अङ्गालेको छु, स्पर्श गरेको छु ।
प्रत्येक वर्ष म मेरो मृत्युको वार्षिकि मनाउँछु; रुन्छु, आफूलाई सम्झन्छु, टाढा पाउँछु तर अझै पनि म पूर्ण रुपमा मर्न सकेको छैन । मर्नु भन्दा अघिको कल्पना; कल्पना भन्दा परको कुरा म कल्पनाशील मस्तिष्कमा ल्याउन चाहन्न तर जब मलाई कसैले म मरेको आभास गराउँछ तब म मेरो मृत्यु अघिको दिन एकएक सम्झन पुग्छु; कुनै चलचित्र झैं ।
म दोस्रो पटक जन्मेको या भनौं पूर्ण भएको करिब मेरो मृत्युको ३ वर्ष अघि हो ! मलाई म पहिलो पल्ट जन्मेको सुखद पल थाहा छैन । मेरी आमाले मलाई ठूलो व्यथा गरी जन्माउनु भयो; आमाको व्यथा म चाहेर पनि बुझ्न सक्दिनँ । सायद म जन्मदा च्याँठिएर रोएँ हुँला; त्यो रुवाइ कम भएछ क्यारे पछि म मेरै मृत्युमा धेरै रुन पर्यो ।
..................................................................................................................................................
म दोस्रो पटक जन्मेको मलाई राम्रो संग थाहा छ । मैले आफैलाई देखेको त्यही दिन हुनपर्छ जुन दिन तिमीलाई मैले म भनेर मनमनै सिञ्चित गरे; म अर्थात् तिमी ।
म कति रुनु छ, कति पिडामा मर्माहत हुनु छ मलाई कल्पना सम्म थिएन । त्यो पल केवल उनमा समाहित हुन लालयित थिए यि मेरा आँखा जुन अहिले मात्र देख्छ तर महसुस गर्दैन तर उनी बिनाको फगत मूल्यहीन हेराइ यी आँखालाई मन्जुर छैन ।
सुनेको थिएँ; भगवानले सबैको जोडी माथिबाटै पठाउँछ तर यो सुनेको थिईन जता बाट पठाउँछ त्यतै लैजान्छ पनि; एक्लो पारेर । मैले तिमीलाई देख्दा तिमी मलाई मारेर जान्छौँ भन्ने कल्पना सम्म पनि गरेको थिइनँ ।
मेरो जीवनमा अचानक परिवर्तनको बाढी आयो । त्यस दिन मैले तिमीलाई नदेखेको भए हुने,आफ्नो नठानेको भए हुने तर म खुसी रहेको दैवलाई मन्जुर रैनछ क्यारे ! म कहिल्यै बिर्सन्न त्यो दिन जुन दिन तिमीलाई मैले पहिलो पटक देखें । तिमी मेरो मानपटलमा सजिलै वास गर्यौ र अरूलाई सजिलै विस्थापन गर्न सफल भयौ ।
मैले तिमीलाई माया गरेको, तिम्रो नजिक भएको सबै याद छ । म मरेको भएपनि; त्यही काहाली लाग्यो दृश्य सम्झन चाहन्न !
मैले तिमीलाई पहिलो पटक देखेको हाम्रो कलेजको वार्षिक उत्सवमा; जब तिमी कुनै कविता छन्दमय रुपमा वाचन गरिरहेकी थियौ । म अझै सम्झन्छु; आकाश जस्तो गहिरो कालो स्निग्ध तिम्रो अनुहार ।
म मन्त्रमुग्ध भए; तिम्रो रुप र तिम्रो स्वरमा । अचानक मेरो मन शान्त सागरबाट ज्वारभाटामा परिणत भयो; जब उद्घोषकले तिम्रो नाम मन्चन गर्यो । तिम्रो नाम र तिमी दुवै पवित्र थिए; प्रभातकालीन शित संग सामाञ्जस्यता ।
म साहित्यमा रुचि राख्छु । कलेजमा या अन्य ठाउँमा हुने जुनसुकै कार्यक्रममा मेरा पाइला र मन ति कार्यक्रममा जान हातारिन्थे । संयोग भन्नुपर्छ या भाग्यको खेल; उनलाई पनि मेरो जस्तै रुचि रहेछ ।
सायद मिति २०६९-०९-१३ गते श्री नारायणी उच्च मा.वि. मा सामुदायिक कलेज स्तरीय कविता प्रतियोगिता आयोजना भएको थियो सो कार्यक्रममा हाम्रो कलेजको प्रतिनिधित्व गर्दै म र उनी जान पर्ने भयो । कलेजबाट उनी र मेरो नाम प्रस्तावित भयो; लाग्यो सारा संसार हामी दुवैको नाम हेरीरहेछ, हाम्रै कुरा गरिरहेछ ।
कार्यक्रम सफल भयो; त्यो कार्यक्रम भन्दा मेरो मनले पूर्ण सफलता प्राप्त गरेको मैले भित्रै देखी महसुस गरें, दङ्ग परे, फुरुङ्ग भएँ ।
"शिशिर जी"
उनको मुखबाट मलाई मेरो आफ्नो नाम नौलो र मिठो लाग्यो ।
"शिशिर जी आजको कार्यक्रम राम्रो भयो है ?"
म बोल्न सकिन; बोल्न खोज्दा सास फेर्न गार्हो भएजस्तो भयो र उत्तरमा "अँ" मात्रै भनि सहमतिमा टाउको हल्लाएँ ।
कार्यक्रम स्थलबाट घर आइपुग्न लगभग १३ किमी बसमा यात्रा गर्नु पर्छ । हामी बस चढ्यौं । उनी र म एउटै सिटमा । लाग्यो; म सपनामा हराउँदै छु ।
उनी बोल्दै थिइन्; म अँ, हँ, हो भन्दै सही थप्दै थिएँ ।
"लौ सबै कुरा अँ हँ हो मात्र हो भन्नुहुन्छ अरू केही बोल्न आउँदैन" जिस्काए झै गरी हासेर प्रश्न गरिन् । म झसङ्ग भएँ; कल्पनाबाट बल्ल मेरो मनले अवतरण गर्यो । मेरो वाक्य फुटेन र मनमनै भने "तिमी बोलिरहु म सुनिरहन तयार छु"
म फेरी झस्किएँ; सहचालले जब गाडी भाडा माग्यो । मैले दुवै जना कार्ड छ अनि पैसा लाउ भन्दै दिन खोज्दा, " म मेरो भाडा दिन्छु है" भन्दै उनी बोलिन् ।
"अँ अब यस्तो पनि दिन आयो" मेरो पूरा वाक्य बल्ल फुर्यो । उनी मलाई हेरिन् र हाँसिन् र भनिन् "लौ हजुरलाई त बोल्न पनि आउँदो रैछ त"
म उनको हाँसोमा फेरी हराएँ । पछिका दिन पनि हामी यसरी नै प्राय संगै कार्यक्रममा सहभागी हुन्थयौं । धेरै भेट र आत्मियताले हामी राम्रो साथी भएका थियौं । सोही कारणले मैले उनको फोन नम्बर छोटो समयमा नै प्राप्त गरें । म प्राय उनलाई फोन कम म्यासेज बढि गर्थेँ; तर सामान्य मात्र ।
यो भन्दा अघिको प्रेम दिवस मेरो लागि खासै महत्त्व राख्थेन तर यसपालिको प्रणय दिवस मेरै लागि आएको जस्तो भइरहेको थियो । १४ फेब्रुअरी अर्थात् प्रेम दिवस; प्रेम गर्नेहरूको दिन । यो मेरो पनि दिन थियो किनकी म पनि कसैलाई हृदय देखिनै प्रेम गर्थें । १४ फेब्रुअरी २०११ को दिन मैले उनलाई सामान्यताको सिमा पार गरी प्रेम प्रस्ताव म्यासेज द्वारा राखें ।
म्यासेज गएको केही समय र उत्तरको प्रतिक्षामा मेरो मन अग्लो हिमाल सकिनसकि चढ्दै थियो तर म अचानक लडें मेरो प्रतिक्षाले नसोचेको रुप लियो; उनको फोन अचानक आयो, म भित्र फोन उठाउने शक्ति नै भएन तर निर्दयी फोन लगातार बजिरह्यो... बजिरह्यो...
No comments:
Post a Comment