पारी गाउँका माइँला, साइँला, काइँला विदेशबाट फर्की आए; आफ्नै माटोमा सुन फलाउन थाले । हातमा माटोको सुगन्धमा रमाउन थाले । विदेशमा कमाएको धन र शिप स्वदेशमा खर्च गरेर समाजमा आदर्शको प्रतिक बन्दै छन् ।
देशमा चुनाउ आयो । भोट हाल्यौ; विजयी बनायौं । जनताको छोराछोरी चुनिए । तर देश खिचातानीमा नै अल्झिरहेछ । कार्यकर्ता माध्यम बन्दै छन् । दु:ख गर्नेको दु:ख देखिदैन । देश झन् गरीब हुदै छ तर पनि आश छ । आश छ र त सास छ । जब सम्म सास छ केही गर्नै पर्छ भन्ने दृढ आभास छ ।
विद्यार्थी, शिक्षक, सामाजसेवक, पत्रकार, नेता, अभिनेता सबै देश बनाउन लाग्ने छन् । नेपाली पैसा र श्रम विदेशी भूमिमा खेर जाने छैन ।
माइँली, साइँली, काइँली आफ्नै माइँला, साइँला र काइँला संग रमाउँदै खेतीपाती गर्नेछन् । प्राकृतिक श्रोत साधनको अधिकतम विकास हुनेछ । उत्पादित विजुली र अन्य सामान विदेशमा विक्रि हुनेछ ।
संविधान छिट्टै बनेर देशमा कानुनी राज्य सञ्चालन हुनेछ । काम गर्नेले काम गरेर खान पाउने छन् । देशमा हत्या, हिंसा, चोरी, भ्रष्टाचारले डाँडा काटेर जानेछ । बन्द सधैका लागि बन्द हुनेछ । पर्यटकहरूको ओहिरो लाग्ने छ; हाम्रा बिर्खे दाई गाइड बन्नु हुनेछ । गाउँमा नै रोजगारीको बाटो खुल्नेछ । प्राकृतिक र साँस्कृतिक सम्पदाको संरक्षण र संवर्दधन हामी सबै मिलेर गर्नेछौं ।
खुट्टा तान्ने प्रवृत्तिको जरै देखी उन्मूलन हुनेछ । हाम्रो होइन राम्रो भन्ने बानीको बिकास हुनेछ । अन्धविश्वास र अन्धपरम्पराले कुम्लो बोकि बसाइ सर्ने छन् । शिक्षामा गुणस्तरीता थपिदै जानेछ ।
हामी सबै देशको परिवर्तन देखेर दङ्ग र फुरुङ्ग पर्नेछौं । विज्ञान र प्रविधिले ठूलो फड्को मार्नेछ । सामान्य भन्दा सामान्य आवश्यकता क्षण भरमा पूरा हुनेछ ।
पत्रिका, रेडियो र टिभीमा कुसमाचार पढ्न, सुन्न र हेर्न पर्ने छैन । जनता सार्वभौम हुनेछन् । धार्मिक सहिष्णुता र भाइचाराले देश अघि बढ्ने छ ।
सगरमाथा, भृकुटी, लुम्बिनी, गौतम बुद्ध सधै हाम्रै हुनेछन् । चन्द्र र सुर्य सधैँ उदाईरहनेछन् । पशुपति नाथले हामी सबैको सधै कल्याण गर्नुहुनेछ ।
देश अवश्य बन्नेछ; नेपथ्यमा भाले बास्दै छ । सुर्योदय हुदैछ।