आमा, कति प्यारो शब्द छ यो । संसारकै प्यारो चिज । सृष्टिकर्ता, मायाको खानी, आमा । संसार देखाउने अनि बोलि मिसाई आफ्नो मातृत्व झल्काउने, आमा । माया धैर्यता सहनशिलता र आँटको प्रतिमूर्ति । आफूलाई जलाएर हामीलाई खुसी दिने, आमा । सायद कोही पनि छैन होला आफ्नो आमालाई माया नगर्ने । आफ्नो सन्तानलाई चोट लाग्दा आफूलाई दुखेको महसुस गरी आँखाबाट मोतीसरी अश्रुवर्षा हुन्छ । जतीसुकै दु:ख पर्दा पनि आफ्नो कलेजोको टुक्रालाई ऐय्या ! पनि भन्न नदिने आमा । आफू नखाएरै पनि आफ्नो अंशलाई तृप्त हुने गरी खुवाउनै पर्ने कस्तो अच्चम ! सन्तानको सफलतामा सबभन्दा बढी खुसी अनि दु:खमा पनि बढि नै । हौसला प्रेरणा दिने अनि अगाडी बढी केही गर्न उत्साह प्रदान गर्ने आमा ।
भन्छन्, आमा भगवानको दर्जामा हुन्छन् साँच्चै भगवानलाई देख्न र भेट्न पाइएको छैन तर साक्षात् भगवान अर्थात् आमा हुँदा भगवानको आभास हुन्छ । बयान गर्न कठिन छ अर्थाउन गाह्रो आमाको भूमिका । सन्तान जति नै ठुलो भएपनि आमालाई सधैँ सानो सानो मान्छे । गलत बाटोमा लाग्दा गाली पनि उत्तिकै अनि राम्रो काममा प्रोत्साहन पनि । बोल्न हिड्न खान लगाउन पढ्न बुझ्न संसार चिन्न सिकाउने आमा सधैँ आफ्नो मुटुको चिन्तामा हुन्छन् । आमाको भूमिका कुनै चिज लेख परिभाषाबाट विश्लेषण गर्न गाह्रो छ । आमाको भूमिका अपरम्पार छ अतुलनिय छ अनमोल छ अमूल्य छ ।