Wednesday, December 18, 2013

मोन्सान्टो आतङ्क

     विभिन्न बिउ उत्पादनको अन्तरराष्ट्रिय संस्था मोन्सान्टोको षड्यन्त्रको प्रयास नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिएको छ । सो कम्पनिले आम किसानलाई बर्बाद पार्न  र नेपालको जैविक विविधता खलल पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको मोह देखाउँदै वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ ।

मोन्सान्टोको किन हुन्न ?

धेरै अरु अन्तराष्ट्रिय क्षेत्रहरुसँगै हाम्रै छिमेकी मुलुक भारतका गरिब किसानहरुलाई आफ्नो विभिन्न प्रलोभनमा पारेर पछि आत्महत्या सम्मको विकल्प रोज्न वाध्य पारेर कुख्याति कमाएका कारण मोन्सान्टो विश्व भरि नै आलोचनाको विषय बनेको छ । बिउ
माथि किसानको अधिकारलाई मोन्सान्टो जस्ता बहुराष्ट्रिय कम्पनिहरुले विविध पक्षबाट आक्रमण गर्ने गर्दछन् र किसानलाई परनिर्भर बनाउँदै लगेर चुस्ने
प्रवृत्तिलाई यिनिहरुको काम गर्ने विधिको रुपमा लिन सकिन्छ । अनुवांशिक रुपमा परिवर्तित बालिको प्रयोग
मोन्सान्टोले किसानहरुको खेत वारिमा उत्पादन धेरै हुने, किरा तथा झारको लागि किटनाशक औषधि धेरै प्रयोग गर्न नपर्ने र अझ गर्नै नपर्ने जस्ता लालचा दिएर लोभ्याउने गर्दछन् । विश्वभरि यसले गरेको खेतिलाई मुल्यांकन गरेर निकालिएको रिपोर्टलाई केलाउने भने
केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि क्रमशः त्यस क्षेत्रमा यसले आफ्नो साइड व्यापारको रुपमा अगाडि सारेको किटनाशक औषधि र मलको प्रयोग मात्रा बढाउँदै लानुको विकल्प किसानलाई नरहने देखिन्छ । त्यस पश्चात किसानहरुको उत्पादन खर्च चरम उत्कर्श पुग्दै जाने देखिन्छ । यसकारण मोन्सान्टोको दलदलमा फस्न भन्दा पहिले हामिले एक चोटि गहिरिएर सोच्नुपर्ने हुन्छ ।

दोस्रो मन्सान्टोले आफ्नै देश अमेरिकाका किसानलाई पनि एक चोटी फन्दामा परेपछि कयौ वर्ष दुख दिन नछाड्ने गरेको धेरै उदाहरण रहेका छन् । परिक्षणको नाम होस् या जग्गा भाडामा लिएर होस या उत्पादन धेरै हुने लालशा देखाएर होस् यसले कुनै किसानलाई आफ्नो चंगुल पारेर आफ्नो उत्पादन सुरु गरेको हुन्छ । त्यस पश्चात यसले खेति गरेको क्षेत्रमा विभिन्न कोणबाट आनुवांशिक उलट पुलट गरिएका वालिहरुको उत्पादन लिने कुरा त
सामान्य नै रह्यो तर यो यसमा मात्र सिमित रहनेवाला पटक्कै छैन । यसको आनुवांशिक उलट पुलट गरिएका वालिहरुको(Genetically Modified Plants) पराग उडेर केहि पर सम्मका किसानको खेत वारिमा पुगेर तिनिहरुको उत्पादनलाई समेत दुषित
पारेको हुन्छ । यसरी दुषित पारिएको खेतिलाई हर्जाना तिर्नुपर्ने होला सामान्य रुपमा सोच्ने भने तर यहाँ मोन्सान्टोले आफ्नो भयानक असलि रुप देखाउँछ । यि गरिव किसानहरुलाई उल्टै यसले आफ्नो बिऊ चोरेर प्रयोग गरेको अभियोगमा लाखौं रुपयाँ तिर्न लगाउँछ । गरिब किसान मोन्सान्टोको अघि निरिह हुन्छ । यसरी यसले आफ्नो बहुराष्ट्रिय कम्पनिको चरित्र देखाउँछ र लुट्न सफल उक्त अकुत सम्पत्ति राजनितिज्ञ तथा नेताहरुलाई आफ्नो अगाडि पछाडि रिंगाउन प्रयोग गर्ने गर्दछ ।

तेस्रो अनुवांशिक परिवर्तित बालिको (GMO's) खेति गर्दा माटोमा र उत्पादनको प्रयोगबाट मानिसमा हुने
विभिन्न नकरात्मक असर अत्याधिक हुने विभिन्न वैज्ञानिकहरुले तथ्यगतरुपमा अघि सारेका छन् । हाइब्रिड तथा अनुवांशिक परिवर्तित बालि उत्पादन
गर्न अत्याधिक रुपमा प्रयोग हुने किटनाशक औषधि र अजैविक मलहरुले मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका दिर्घ हानिकारक रोग तथा माटोको स्वास्थ्यमा पनि दिर्घकालिन असर पार्ने गर्दछ । यसका साथ साथै अनुवांशिक परिवर्तित बालिको सेवनले मानिसमा गर्न सक्ने हानिको सिमाको त कुरा नगरौं, यसले माटोमा पनि अपुरणिय क्षति पुराउने विभिन्न तथ्यहरु फेला पर्दै गएको वैज्ञानिकहरुले बताउने गर्दछन् । केही वर्ष पहिले युरोपमा अनुवांशिक
परिवर्तित गाईहरुबाट दुध उत्पादन गर्न सुरु गरिएकोमा केही समय पछि अनुवांशिक परिवर्तित गाईहरु बौलाहुन सुरु गरेका र दुध सेवन गर्ने मानिसहरुमा पनि बौलाहको लक्षण देखिएको बताइन्छ । हाल युरोपियन युनियनले आफ्नो सदस्य राष्ट्रहरुमा अनुवांशिक
परिवर्तित खेतिलाई पुर्णतारुपमा रोक लगाएको पाइन्छ भने संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनको निरन्तर दबाव र विश्व व्यापि मानव अधिकार कर्मिहरुको दबावका कारण अमेरिकाले
उत्पादन गर्ने अनुवांशिक परिवर्तित बालिबाट उत्पादन गरिएको खाद्यान्नलाई अनुवांशिक परिवर्तित को ट्याग लगाएर मात्र बिक्रि बितरण गर्ने गरिन्छ । तथापी यस्ता तथ्यांकको अनभिज्ञतामा वा सस्तो वस्तु र राम्रो खोल देखेर किन्नेहरुको घरमा भने यस्ता सामग्रीले सजिलै प्रवेस पाएका छन् । अब यस्तो खाना खान तयार मान्छेले मात्र सेवन गर्ने भए अनुवांशिक परिवर्तित खाना भन्न त सकिला तर यसले माटोमा छाडेको असरलाई कसरी ट्याग लगाएर अलग राख्न सकिएला भन्ने प्रश्न गम्भिर समस्याको रुपमा अगाडि आएको छ । नेपालमा मोन्सान्टोको गतिविधि पराम्परागत रुपमा गरिने खेति किसानिको ध्वंश गर्दै बंशाणु परिवर्तित विउबाट उत्पादित खेति प्रणालिको विकास र व्यापारमा कुख्याति कमाएको मोन्सान्टो नामक बहुराष्ट्रिय बिऊ कम्पनिको नेपाल प्रवेश विवादित बन्दै गइरहेको थियो । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय र युएस एडले गोप्य रुपमा वैज्ञानिक
परिक्षणको नाममा हजारौं हेक्टर जग्गामा वर्णाशंकर मकैको उत्पादन परिक्षण गर्ने सम्झौता भयो भनिएको कुरा जब अकस्मात सार्वजनिक भयो तब
शंका उपशंका चरम उत्कर्षमा पुग्यो । मोन्सान्टोको मकै परिक्षण नेपाली किसानको खेतवारीमा गरिने
खबरको सर्वत्र चासोका साथ विरोध गरियो र सरकारी प्रतिनिधिहरु पनि खुट्टा कमाउन थाले । चितवन,
नवलपरासी र काभ्रेका २० हजार किसानलाई मोन्सान्टोको विऊ वितरण गरि मकैको परिक्षण गरिने
जनाइएता पनि मोन्सान्टोको विश्वव्यापि रुपमा स्थापित नकरात्मक छवि र कुकृत्य विभिन्न संचार माध्ययमबाट बाहिर आए पछि मोन्सान्टोसँगको सम्झौताको मन्त्रालय तथा यु एस एडबाट नै खण्डन सुरु भएको छ र मोन्सान्टो नेपाल छिर्ने दोस्रो उपायमा अग्रसर रहेको छ । यसले हाल विभिन्न उपायको खोजि गर्दै गर्दा विश्वविद्यालय र नार्क जस्ता क्षेत्रका वैज्ञानिक र अनुसन्धानकर्तालाई विभिन्न लालशा देखाएर नेपालमा मोन्सान्टोको अजैविक विऊले जैविक प्रदुषण गर्ने, खाद्य सहयोगको नाममा जुम्ला जाजरकोट
जस्ता भोकमरी ग्रस्त क्षेत्रमा मोन्सान्टोको अनाज र उस्तै परे विउ पनि वितरण गर्ने सोचमा अघि बढेको देखिन्छ र लुकेर यस किसिमका कदमहरु चालि रहेको छ ।

निष्कर्षमा:

मोन्सान्टो जस्तो विश्व घृणित बहुराष्ट्रिय कम्पनिलाई वैधानिक तवरबाट नेपाल आउनबाट रोक्न पक्कै सफल हुनेछन्  । तर, पैसाकै दम बाट विश्वलाई हाक्न खोज्ने मोन्सान्टो जस्तो अजंगको सस्था शैक्षिक अनुसन्धान, खाद्यान्न सहयोग लगायतको विभिन्न बहानामा नेपाल छिर्न खोजिरहेको छ । यस्ता गतिविधिलाई निरुत्साहित गर्न र हाम्रो कृषि क्षेत्रलाई दरिलो बनाउँदै लैजान सरकारी क्षेत्रबाट
आवश्यक नियमन गर्नुपर्ने हुन्छ । सरकारले नै
हाम्रो परम्परागत खेति प्रविधिको विकासमा जोड दिएर
स्थानिय स्रोत र साधनको उपयोगलाई प्राथमिकता दिनु पर्छ अनि मात्र दिगो रुपमा खेतिबाट नाफा लिन सकिन्छ र यस्ता बहुराष्ट्रिय कम्पनिबाट हुन सक्ने धक्काको मुकाविला गर्न कृषक आफैं नै सक्षम हुनेछन् । यसरी मोन्सान्टो जस्ता कम्पनिको विरुद्ध उभिएको नेपाल दह्रो रुपमा सधा सर्वदा उभिन सक्षम रहने नेपालका राष्ट्र प्रेमि सम्पुर्ण कृषिकर्मिहरुको विश्वास रहेको छ ।

मौनता [कविता]

जब हामी दुई भयौ;
मौनता र आँसुमा
आधा भाँचिएको मन
वर्षौं देखि मर्मतको खोजिमा ।

बिहानीको शीत;
मेरा ओसिला परेलामा
म सम्झन्छु चेतावनी
जो म सोचिरहेको हुन्थे ।

सबै टुक्रिएझै;
कतै तिम्रो नाम गुन्जाएमान हुन्छ
आफ्नो दबदबा कायम गर्दै
ति गुन्जाएमान मेरा नाम भन्दा
तिम्रो नाम अगाडि लिन्छन्
मेरा कानमा सुस्केरा हाल्दै
मेरा काँधमा हात राख्दै
किन दु:खी छौ प्रिय ? एक अनुत्तरित प्रश्न
तितो उत्तरको खोजीमा यायावर
तर उत्तर फ्रिज भएको छ ।

हाम्रो शालिन गोप्य भेट;
मौनतामा बोल्दै
मेरो हृदय अनकनाउँछ
आत्मा अकमकाउँछ,
यदि फेरि वर्षौँ पछि हाम्रो भेट
म कसरी बोलुँ तिमीसंग
कसरी गरूँ तिमी संग साक्षात्कार
यी मौनता र आँसुसँग ॥

Saturday, December 7, 2013

अन्त्यहीन संगमता

जसरी नदीहरू समुन्द्रको खोजीमा
आफूभन्दा गहिरोपना खोज्छन्
त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ;
धेरै टाढा
बगीरहेको नदी
एक्लै आफ्नै वेगमा
एक्लोपना
मात्र एक्लोपना

जसरी पवित्र फूल
आफूलाई घामको किरणमा समाहित गर्छ
अनि आफूलाई उसँगै आरोपित गर्छ;
फक्रिएर तन्किएर,
त्यसरी नै मेरो मुटु विस्तारीत हुन्छ
तिम्रो आवाजको समुद्घाटन संगै
तिमी
मात्र पवित्र साथ

जसरी प्रभातकालीन शीत देखिन्छ
घामको साथमा पनि पवित्र स्वच्छ
त्यसरी नै मेरो आत्मा सम्रपित ;
तिमी प्रति
तिम्रो माया भावनाप्रति

जसरी शीतले कुनै दाग छोड्दैन
बिलाएर जाँदा हराएर जाँदा
पृथिवीको बाहिरी पत्रमा
संग पनि छैन कुनै छलकपट
तिमी तिम्रो लगावप्रति

नदीलाई थाहा हुन्छ उसको गन्तव्य
शीतको उद्देश्य निश्चित
फूलको पहिचान कला निर्धारित
सबै आफ्नै समयमा;
अघि पछि
पनि सम्झन्छु पूराना दिन
भेट्नेछु ति अतित
दु:खद अतित
आफ्नै समयमा
अन्त्य समयमा
पक्कै अन्त्यमा

Thursday, November 14, 2013

म चाहन्छु ! (कविता)

म चाहन्छु,
वैभव यश आराम
जीवनको सम्पूर्ण परिभाषा
अर्थ भित्रको अर्थ

मूल्य र मान्यता
केवल भानमा सिमित रहेछन्
अनि रहन्छ खोक्रो अस्तित्व
देश संग सामन्जस्यता

म चाहन्छु,
मातृत्व र भातृत्वको प्रभात
यही धर्तीको सुवास
अनि सुवास भित्र
विकास र उधम

गुन्जाएस छैन कुनै
म मख्ख छु आफैमा
आश्रित देश
परजीवि अनुहार

म चाहन्छु,
फूल फूलाउने पाखा
दु:ख भुलाउने भाखा
अनि कुरीति
आफै बिलिन हुनेछ
पर्ख मात्रै समय कुर्नु को धेर छ ॥

Wednesday, April 10, 2013

पीनासको गद्य कथा


 श्रीगणेशायनम: ॥ कैलासमा महादेव पार्वती बसेका रहेछन् । महादेवजीले भन्नुभो--हे पार्वती ! मृर्त्यलोक जन्माएथे, त्यो कस्तो भो ? नागलोकमा पनि खूब अश्मेघ यज्ञ र नाच कीर्तन हुन लागेका छ भन्ने सुन्दछु । मर्त्यलोकमा पनि जानुपर्यो, नाच हेर्नलाई मलाई बहुत इच्छा लाग्यो, जाउँ भनी महादेवजीले भने । 'हे ईश्वर ! म किन जाउँ हजुर मात्र पाल्नुहोस्' भनी पार्वतीबाट विन्ति गर्दा श्रीमहादेवजी एक्लै नागलोक जाँदा भए । त्यहाँबाट मर्त्यलोकमा आएर मर्त्यलोक जमाएको हेरी विचार गरे । नाच-कीर्तन हेर्नको साह्रै इच्छा हुँदा नाच-कीर्तन हेर्न लागे । हेर्दा हेर्दै नरकलोकमा धेरै दिनसम्म भुली कैलासमा नपुग्दा महादेवजी किन आउनुभएन, कसो भो के कामले भुल्नुभो ? महादेवलाई चाँडै डाकि ल्याऊ भनी गौरीगाई नरक लोक पुगी महादेवसित भेट गरी-- 'हे प्रभु ! कैलासबाट पार्वतीले चाँडै हजुरलाई डाकी ल्याऊ भनी आज्ञा हुँदा म आएकी हुँ भनी बिन्ति गरिन् । महादेवजीले बढिया भयो सँगै जाउँला भनी गौरीगाईलाई बाँधिदिनुभयो, आफू कैलाशमा नजाँदा पार्वतीबाट रिसानी भएर बाछालाई लिन पठाउनु भयो । बाछो नरकलोकमा महादेवजीका समीप पुगी-- 'हे प्रभु ! गौरीगाई ल्याउन सकिनन् तिमी हजुरलाइ कैलाशमा डाकी ल्याऊ भनी पार्वतीबाट हुकुमहुँदा म आएको हुँ भनी बिन्ति गरे ।' गौरीगाई आईन् तिमी पनि आयौ, बढिया भो सँगै जाउला भनी बाछालाई पनि बाँधिदिए । आफू मर्त्यलोककोभ भरीमा भुले । फेरी पार्वती रिसाएर हे सिँह ! अब तिमी जाऊँ भनी कुरा सिकाई पठाइन् । सिँह नरकलोकमा महादेवका आगाडी पुगी हे प्रभु ! कैलाशबाट पार्वतीले गौरीगाई, बाछालाई लिन पठाएको उनीहरु समेत अझ आएनन् अब तिमी गएर हजुरलाई चाँडै ल्याऊ भनी अह्राउँदा आएको हुँ भन्दा बेस भो, गौरीगाई बछाहा पनि आएकै छन् तँ पनि आईस् अब सँगै जाउँला भनी सिँहलाई पनि बाँधिदिनुभयो । सिँह नफर्केकाले पार्वतीले अब महादेवजी हत्तपत्त आउनुहुन्न केही पीडा दिएर जरुर आउनुहोला भन्ने गौर गरी काँखीको रौँ उखेली पीनास बनाईन् । पीनास खडा भो--हे पीनास ! तिमी नरकलोकमा जाऊ र महादेवजीको नाकभित्र पसी पिडा देऊ तब महादेवजीले आउनुहोला ।' भन्दा हवस् भनी पिनास नरकलोकमा पुगेर महादेवजीका नाकभित्र पसी पीडा दिन लाग्दा महादेव आत्तिएर वैद्य खोजी ओखती गर्दा पनि निको भएन । वैद्यले यो कठिन रोग हो नाक झर्रा भने जस्तो देखिन्छ हामीबाट यो निको हुदैँन यसको औषधि चाँडै गरिहाल्नुहोस् भने । महादेवजी गौरी, बछाहा सिँहलाई लिएर कैलास जानुभयो । पार्वतीसित भेट हुनेबित्तिकै हे पार्वती ! यो नाकको व्यथाले साह्रै पीडा दियो मेरो जिऊ झिर्न पार्यो अब चाँडो उपाय गरिदेऊ भनी महादेवजीको आज्ञा हुदाँ पार्वतीले बिन्ति गरिन्--हे ईश्वर ! नरकलोकमा धेरै दिन सम्म भुली यहाँ नआउँदा मैले गौरीगाई बछाहा सिँहलाई पठाउँदा पनि प्रभु पाल्नुभएन । केही पीडा दिए मात्र आउनुहोला भनी काखीको रौँ उखेली पीनास बनाई पठाएथेँ उही पीनासले चरणलाई दु:ख दिएको हो । अब कत्ति चिन्ता गर्नुपर्दैन म निको गरिदिन्छु भनी श्री महादेवजीका नाकमनी दुई हात थापी पार्वतीले-- "हे पिनास ! बाहिर निक्लीआ भन्दा पीनास बाहिर निस्क्यो । महादेव जी आन्नद र अच्चम मानी मलाई यस पीनासले यस्तो पीडा दियो भने नरलोकमा कस्तो गर्ला ! यसलाई छाड्न हुँदैन भनी बाचा बाँधी बाचाको बन्धन गरिराख्नु पर्दछ लो बोलाउ भन्दा पार्वतीले पीनासलाई बोलाई महादेवका अगाडिमा राखिदिँदा पीनासले अब म कहाँ बसुँ ? के खाऊँ ? भनी बिन्ति गर्दा--"हे पीनास ! मर्त्यलोकमा बस्ने ठाँउ खोजी बस् । मनुवाको खकार सिङानहरु खाई बस्नू । मनुवाले तँलाई केही पीडा दिए तैँले पनि पीडा दिनू । मनुवाले केही पीडा नदिई अघिबाटै तैलेँ पीडा दिइस् भने तँलाई ब्रह्महत्या गौहत्याको पापा लाग्ला ।" भनी बाचा बँधाई महादेवले मर्त्यलोकमा पीनासलाई पठाईदिनु भयो । पीनासले बस्ने ठाऊँ तलाशी गर्दा पाटनपुरमा अनिरुद्र पाँडेको रछानका किनारमा चारपाटे ठूलो ढुङ्गो रहेछ । त्यसैले ढुङ्गामा अनिरुद्र पाँडे स्नान गर्दा रहेछन् । पीनासले मेरो जीविका यहीँ होला भनी ढुङ्गाभित्र पसी ठाउँ बनाई पाँडेको मयल सिङान र खकार खाइरहे । रहँदा बस्दामा पीनासको बिसासय जहान भएछन् । एक दिन अनिरुद्र पाँडेले तातो पानीले स्नान गर्दामा तातो पानी ढुङ्गाभित्र पस्दा पीनासका जहान र पीनासको दुरिदुहाई भयो । तब पीनास कराउन लाग्यो-- हे पाँडे ! तिम्रो विराम मैले केही गरेको थिइँन बिहकमा मेरो लाला-बाला परिवार भस्म गरी मारिदियो । म पनि तिम्रा जहान भस्म गरि मारिदिन्छु भनी गाईका थुनभित्र पसी दूधमा विष छोडिदियो । यो दूध(गोरस) खाई पाँडेका जहान भस्मभूत भएछन् । सोही बिरहले अनिरुद्र पाँडे दहीको ठेकी र च्यूरासमेत हातमा लिई परदेश जाँदा भए । वाणगंगाका किनारमा पुगि नुहाउन दहीको ठेकी क्यामुनाका रुखमा झुण्डाई यताउति हेर्दा जसु चण्डाल बाख्रा चराउँदो रहेछन् ।अनिरुद्रले 'हे जसु ! दहीको ठेकी क्यामुनाका रुखमा झुण्डाएको छ सो हेरिदिए है भनी नुहाउन गए । त्यसै बीचमा पीनास पनि आई दहीका ठेकीभित्र पसी यो पाँडेका जहान भस्म पारिसकेँ अब यो दही खान्छ त यो पाँडे पनि मर्छ भनी पीनासले कुरा गर्दा जसु चण्डालले सुनेछ । अनिरुद्र पाँडे स्नान सन्ध्या गरी दही च्यूउरा खाउँ भनी दहीका ठेकीमा हात लाँदा जसु चण्डालले भने--हे पाँडेजी ! त्यो दहीको ठेकीभित्र विषालु कीरो बोल्दछ । त्यो दही नखाऊ यदि खायौ भने तिमी अवश्य मर्दछौ बरु त्यो ठेकी आगोमा हालिदेउ । तब अनिरुद्र पाँडेले आगोमा हालिदिए । त्यो ठेकी तात्नेबित्तिकै पीनास कराउन लाग्यो । तिम्रा जहान मार्ने शत्रु कीरो यही हो भनी जसु चण्डालले भन्यो । अनिरुद्र पाँडेले पनि मेरा जहान भस्म पारी मारिस् अझ मलाई पनि मार्न भनी मेरा पछि आएको शत्रु ! अब परिस् फेला तँलाई पनि मार्दछु भन्दा पीनास भन्छ--हे पाँडेजी ! तपाईँको स्नान गर्ने ठूलो चारपाटे ढुङ्गाभित्र पसी बस्ने ठाउँ बनाई तपाईकै मयल खाई मेरा जहान विसासय पाली बसेको थिएँ । एक दिन तपाईले तातो पानीले स्नान गरी बाँकी रहेको पानी ढुङ्गा भित्र फ्याँक्ता मेरा जहान सबै मरे । बिहकमा मेरा जहान पनि मार्दछु भनी मारेको साँच्चै हो । मैले बिराएँ । अब म तपाईँका शरणमा परेँ भनी पीनासले बिन्ति गर्दा अनिरुद्र पाँडेले उसो भए तँलाई बाँचा बाँधि छाड्छु । बाँधेको बाचा नाघिस् भनेस् तँलाई ब्रह्महत्या गोहत्याको पापा लाग्ला भनी बाचा बाचा बाचा तीन तेवाली बाचा बाँधिराखे । यो कथाको साक्षी जसु चण्डाल क्यामुनाको रुख बाणगंगा दहीको ठेकी अग्नि अनिरुद्र पाँडे अब अनिरुद्र पाँडेको दुहाई पीनासको दोहोली भयो दोहोली भयो ।

द्रष्ट्व्य: पिनास लागेका बिरामीले सध्याकालिन समयमा यो कथा तीन पटक पढेमा पिनासबाट मुक्ति पाईन्छ ।।

Friday, March 22, 2013

आमा

आमा, कति प्यारो शब्द यो संसारकै प्यारो चिज सृष्टिकर्ता, मायाको खानी, आमा संसार देखाउने अनि बोलि मिसाई आफ्नो मातृत्व झल्काउने, आमा माया धैर्यता सहनशिलता आँटको प्रतिमूर्ति आफूलाई जलाएर हामीलाई खुसी दिने, आमा सायद कोही पनि छैन होला आफ्नो आमालाई माया नगर्ने आफ्नो सन्तानलाई चोट लाग्दा आफूलाई दुखेको महसुस गरी आँखाबाट मोतीसरी अश्रुवर्षा हुन्छ जतीसुकै दु: पर्दा पनि आफ्नो कलेजोको टुक्रालाई ऐय्या ! पनि भन्न नदिने आमा आफू नखाएरै पनि आफ्नो अंशलाई तृप्त हुने गरी खुवाउनै पर्ने कस्तो अच्चम ! सन्तानको सफलतामा सबभन्दा बढी खुसी अनि दु:खमा पनि बढि नै हौसला प्रेरणा दिने अनि अगाडी बढी केही गर्न उत्साह प्रदान गर्ने आमा
            भन्छन्, आमा भगवानको दर्जामा हुन्छन् साँच्चै भगवानलाई देख्न भेट्न पाइएको छैन तर साक्षात् भगवान अर्थात् आमा हुँदा भगवानको आभास हुन्छ बयान गर्न कठिन अर्थाउन गाह्रो आमाको भूमिका सन्तान जति नै ठुलो भएपनि आमालाई सधैँ सानो सानो मान्छे गलत बाटोमा लाग्दा गाली पनि उत्तिकै अनि राम्रो काममा प्रोत्साहन पनि बोल्न हिड्न खान लगाउन पढ्न बुझ्न संसार चिन्न सिकाउने आमा सधैँ आफ्नो मुटुको चिन्तामा हुन्छन् आमाको भूमिका कुनै चिज लेख परिभाषाबाट विश्लेषण गर्न गाह्रो आमाको भूमिका अपरम्पार अतुलनिय अनमोल अमूल्य